तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै
असोज ४ देखि रामेछाप–दुक्ला उडान
काठमाडाैं | भदौ १७, २०८१
काठमाडौं: तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुन:उडान सुरु गर्ने भएको छ ।
प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो ।
उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।
तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई सात सय ३९ मिटर रहेको छ ।
असोज ४ देखि रामेछाप–दुक्ला उडान
यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।
यस्तै यो सिजनका लागि तारा एअरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका बनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले जानकारी दिएको छ ।
ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ ।
विमानस्थलमा धावनमार्ग विस्तार, एकैपटि उडान चाप भइरहेको व्यवस्थापनमा सहज हुने सुरक्षा अधिकृत बर्तौलाको भनाइ छ । उहाँले रामेछाप विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुविधाका लागि राम्रो प्रबन्ध गरेकाले एयरलाइन्सको उडानमा सहज हुने बताउनुभयो ।
उक्त विमानस्थलमा आठ वटा पाकिङ्ग, एक्सरे मेसिन पनि जडान भएकाले यात्रुलाई सजिलो भएको छ । यस्तै लुक्लामा एक्सरे मेसिन सञ्चालनमा आएकाले यात्रु व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

